काठमाडौं:भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिएसँगै नेपालले भारतसँग सीमा जोडिएको नाकामा निगरानी बढाउने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।
गएको २४ घण्टामा मात्रै भारतमा ४३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको थियो । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा संक्रममितको संख्या बढेसँगै खुला सीमा रहेको नेपालले नाकामा निगरानी बढाएको हो ।
नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
भारतमा तिव्र गतिमा संक्रमण फैलिएसँगै रोजगारीका लागि गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन सक्ने जोखिम बढेकाले घर फर्किनेहरूलाई नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।
मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाकालगायतमा कडा निगरानीसहित एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको हो ।